माओवादी जनयुद्धको योगदान -भीम भुर्तेल

                

नेपालमा माओवादी विद्रोहको कारणले गर्दाखेरी सकारात्मक र नकारात्मक दुवै खालका परिवर्तन भएका छन् । तर, आफुलाई राजनीतिको पण्डित ठान्ने र माओवादी विद्रोहको नामै सुन्न नचाहाने एक थरी विद्धान ठान्ने जमातले नेपालमा माओवादी विद्रोहले नकारात्मक कार्य मात्र गरेको जिकिर गर्छन । सकारात्मक कुरो केहि भएको छैन भन्ने ठान्छन ।

हो यो विद्रोहको दर्मियान माओवादी सशस्त्र संधर्षका घटनाहरुको कारणले करिब १७ हजार व्यक्तिको ज्यान गयो । करिब १४ सय व्यक्ति अझै वेपत्ता रहेका छन् । आफ्ना निकट र प्रियजनको अवस्था के छ भनेर जान्न वेपत्ताका परिवार व्यग्रताका साथ पर्खाईमा छन् । साथै, पचासौं अर्बै रुपैयाको सार्वजनिक र नीजि सम्पति नष्ट भयो । यो माओवादी विद्रोहको कालो पक्ष भन्न हिच्किचाइरहनु पर्दैन ।

तर, पर्खनुहोस, यी अध्यारा पाटाका वीचमा पनि माओवादी विद्रोहले नेपालमा के गर्यो भन्ने लिष्टमा अरु केहि महत्वपुर्ण बिषय पनि रहेका छन् । त्यो हो यसको चम्किलो अर्को पाटो । दाताले अर्बौ रुपैयाको खर्च गरेर हासिल गर्न नसकेको पाटो हो । यो विकासे प्रक्रिया र रकेटको गतिमा हासिल हुने आर्थिक वृद्धिसमेतले धेरै देशमा ल्याउन नसकेको उपलब्धीको पक्ष हो ।

माओवादी विद्रोहबारे माओवादी इतरमा सवैभन्दा पहिला कान्तिपुर दैनिकमा यो माओवादी विद्रोहको नकारात्मक पक्ष मात्र छैन । द्वन्द्व सधै नकारात्मक मात्र हुदैन । द्वन्द्वले सकारात्मक र गुणात्मक परिवर्तन पनि ल्याउँछ भनेर मैले लेख लेखेको थिए । त्यो बेला मलाई आफ्नै साथीहरुले पनि माओवादी हो भन्थे । मेरो कुनै माओवादी नेता कार्यकर्तासंग भेटघाट पहिला पनि भएन र अहिलेसम्म पनि भएको छैन । खैर, त्यो बेलाको मेरो आकलन अहिले सहि सावित भएको छ ।

सन १९७१ मा स्थापित र स्वीटजरलैण्डको जेनेभामा मुख्यालय भएको अन्तरराष्ट्रिय संस्था वल्ड एकोनोमिक फोरमले जनवरी २२, २०१८ मा विश्व समावेसी विकास प्रतिवेदन अर्थात वल्ड इन्क्लुसिभ डेभलपमेण्ट रिर्पोट, २०१८ सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनमा संसारको अभ्रिएर आइरहेका अर्थतन्त्र अर्थात ‘इमरजिङ्ग इकोनोमीज्’को सुचिमा नेपाल यस बर्ष २२ औं स्थानमा रहेको छ । उक्त समुहमा ७७ वटा देश समावेस गरिएको छ । उक्त ७७ देशहरु मध्ये नेपालको २०१८ को ओभरअल स्कोर ४.१५ रहेको छ । साथै ५ बर्षयताको रुझान अर्थात फाइभ इयर ट्रेण्डमा नेपालको स्कोर ८.५३ रहेको छ । फाइभ इयर ट्रेण्डमा नेपालको स्कोर तेस्रो सवैभन्दा उच्च स्कोर हो । नेपालभन्दा धेरै मेसेडोनियाको ९.२४ र ताजिकिस्तानको ८.५७ छ ।

उक्त प्रतिवेदनमा चीन नेपालभन्दा चार स्थान तल २६ औं स्थानमा छ । बंगलादेश नेपालभन्दा तल ३४ औं स्थानमा छ । श्रीलंका ४० औं, पाकिस्तान ४७ औं, र भारत ६२ औं स्थानमा छ । नेपाल दक्षिण एसियामा सवैभन्दा अगाडि रहेको छ ।

उक्त प्रतिवेदनको निश्कर्ष के छ भने समावेसी विकासको लागि कुल ग्राहस्थ उत्पादनमा वृद्धि एक आवश्यक सर्त हो तर यो प्रयाप्त सर्त होइन भन्ने निश्कर्ष दिएको छ ।

नेपालले यस्तो छलाङ्ग लगाउनको कारण माओवादी विद्रोहले ल्याएको राजनीतिक र सामाजिक समावेसीकरणको छलाङ्ग नै हो भन्न जिव्रो चपाउन वा आइतवारै  कुर्नु पर्छ भन्ने छैन । यो बिषयमा माओवादी विद्रोह यसको श्रेयको हकदार छ ।

तर, यो सुरुवात मात्र हो । यात्रा अझै धेरै लामो तय गर्नु छ । अब एक चरणको राजनीतिक र सामाजिक समावेसीकरण भएको छ । यसलाई अझै सवलीकरण गर्दै अव थप वित्तीय तथा आर्थिक समावेसीकरणलाई तिब्र बनाउँन आवश्यक छ । किनभने समावेसी आर्थिक वृद्धिले समावेसी विकासको गतिलाई अझै तिव्र बनाउँने छ ।

अहिले पनि नेपालमा करिब आधा जनसंख्याको वैंक तथा वित्तीय संस्थामा आफ्नो नाममा खाता छैन् । करिब ५६ प्रतिशत व्यक्ति कर्जाको सुविधाबाट अफै बञ्चित रहेका छन् । त्यस्तै नेपालको कुल गा्रहस्थ उत्पादनमा करिब एक तिहाई मात्र योगदान गर्ने कृषि क्षेत्रमा दुई तिहाई जनसंख्या निर्भर रहेका छन् । भएको थोरै उत्पादन धेरै जनसंख्यामा बाँड्नु पर्दा गरिबीको संख्या धेरै र न्युनस्तरको जीवन बाँच्न बाध्य छन् ।

त्यसकारणले सवै नागरिकको व्यक्तिगत वैंक खाता खोल्न, वित्तीय समावेसीकरण र आर्थिक समावेसीकरणको क्षेत्रमा अझै तिव्र काम गर्न जरुरी छ । आर्थिक अवसरको सिर्जना र आयमा वृद्धि गर्न अझै आवश्यक छ । त्यस्तै कृषिमा आश्रित जनसंख्यालाई करिब २० प्रतिशतभन्दा कम गर्ने र कृषि उत्पादनलाई दोब्बर गर्न आवश्यक छ ।

कृषिमा गरेको लगानी अहिले अप्रत्यक्ष वितरणको रुपमा रहेको छ । कृषिमा मल, बिउ, किटनाशक, औजार तथा प्रविधी, उर्जा र कर्जाको व्याजमा उल्लेख्य अनुदान दिन आवश्यक छ । त्यसले मात्र कृषि उत्पादनमा वृद्धि गर्न सकिन्छ । यस्तो ृउत्पादनले कालान्तरमा वितरणको काम गर्ने छ ।

त्यसो गर्न सकिएमा नेपालले समावेसी विकासमा अझै राम्रो स्कोर गर्ने छ । नेपालमा माओवादी विद्रोहले केहि गरेन नकारात्मक परिणाम मात्र ल्यायो भन्नेलाई यो गतिलो जवाफको रुपमा आएको छ ।

Bhurtel Bandhu Samaj Nepal, Committee Members

                

© 2024 Bhurtel Bandhu Samaj Nepal | Login